पुनः अन्तर्राष्ट्रिय र आन्तरिक उडान बन्द गर्दै सरकार

काठमाडौं । कोभिड संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)ले कोरोनाभाइरसबाट अति प्रभावित १० मुलुकबाट नेपालसँग हुने सीधा अन्तर्राष्ट्रिय उडानमा रोक लगाउन मन्त्रिपरिषद्मा सिफारिस गरेको छ ।

सीसीएमसीको शुक्रबार बेलुका बसेको बैठकले मुलुकभित्र कोरोनाको संक्रमण भयावहरुपमा फैलिएको निष्कर्ष निकाल्दै आन्तरिक उडान समेत बन्द गर्न सिफारिस गरेको हो ।

बैठकले आन्तरिक उडान पनि बन्द गर्न प्रस्ताव गरेको सिसिएमसीका एक सदस्यले बताए। परिस्थिति काबुबाहिर जान सक्ने भएकाले यस्तो सिफारिस गरिएको उनले बताए।

‘सिसिएमसीमा छलफल हुँदा हाल अतिप्रभावित देशमा उडान स्थगित गर्नुपर्ने सल्लाह आएकोले सिफारिस गरिएको छ,’ उनले भने, ‘मन्त्रिपरिषदले निर्णय गरेपछि कार्यान्वयन हुन्छ।’

कोरोना अतिप्रभावित मुलुकहरु भारत, अमेरिका, बेलायत लगायतका दस मुलुकबाट हुने उद्गम स्थलको उडानलाई रोक लगाउन सिफारिस गरिएको उनले बताए । उनका अनुसार ट्रान्जिट हुँदै आउने विमानमा भने यो नियम लागु हुनेछैन ।

सीसीएमसीले गरेका सिफारिस मन्त्रिपरिषद्को आगामी बैठकले पारित गर्ने र त्यसपछि कार्यान्वयनमा जाने बताइएको छ । भाइरसबाट अति प्रभावित भारतबाट हुने उडानमा रोक लगाउनुपर्ने सुझाव विज्ञहरुमा दिँदै आएका थिए ।

Leave a comment

Your email address will not be published. Required fields are marked *